नियम
सानो कारोबार गर्ने व्यवसायीले दर्ता गराउनु नपर्ने
(१) नियम ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह्र महिनामा वस्तु, ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा तीस लाख रुपैयाँसम्मको कारोवार गर्ने व्यक्तिले आफ्नो कारोवार दर्ता गराउनु पर्ने छैन यसरी कारोबार दर्ता गराउनु नपर्ने व्यक्तिले आफ्नो कारोबार स्थलमा वस्तु, ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु हकमा तीस लाख रुपैयाँसम्मको कारोवार मात्र भएकोले दर्ता हुनु नपर्ने भन्ने सूचना सबैले देख्ने गरी राख्नु पर्नेछ ।
(१क) कुनै आपूर्तिको खरिद, विक्री, मौज्दात र गोदाम छुट्टिन नसक्ने भएमा करको प्रयोजनको लागि कर अधिकृतले त्यस्तो आपूर्तिको खरिद, विक्री र मौज्दातलाई एउटै कारोवार सीमा मानी कर निर्धारण गरी असुल उपर गर्न सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सानो कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा नियम ३ बमोजिम दरखास्त दिन सक्नेछ । यसरी स्वेच्छाले कारोबार दर्ता गराउन दरखास्त परेमा कर अधिकृतले नियम ४ बमोजिमको जाँचबुझ प्रक्रिया पूरा गरी ऐनको दफा ९ को अधीनमा रही कारोबार दर्ता गरिदिनु पर्नेछ ।